बेइजिङ । तिब्बती आध्यात्मिक गुरु दलाई लामाले प्रतिष्ठित ‘ग्रामी अवार्ड’ जितेपछि चीनले कडा विरोध जनाएको छ। दलाई लामालाई सम्मान प्रदान गर्नु ‘चीनविरोधी राजनीतिक गतिविधि’ भएको दाबी गर्दै बेइजिङले यसप्रति आपत्ति जनाएको हो।
९० वर्षीय दलाई लामाको अडियो पुस्तक ‘मेडिटेसन्स: द रिफ्लेक्सन्स अफ हिज होलनेस द दलाई लामा’ ले यस वर्षको ‘अडियोबुक’ विधातर्फ ग्रामी अवार्ड जितेको हो। अवार्ड घोषणा भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमार्फत कला र सांस्कृतिक पुरस्कारलाई चीनविरुद्ध राजनीतिक औजारका रूपमा प्रयोग नगर्न चेतावनी दिएका छन्। चीनले दलाई लामालाई लामो समयदेखि विखण्डनकारी र विद्रोही नेताका रूपमा लिँदै आएको छ।
भारतको धर्मशालामा निर्वासनमा रहेका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले सामाजिक सञ्जालमार्फत यो सम्मानलाई कृतज्ञता र विनम्रताका साथ स्वीकार गरेका छन्। उनले यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि साझा विश्वव्यापी उत्तरदायित्वको पहिचानका रूपमा लिएको उल्लेख गरेका छन्। दलाई लामाको तर्फबाट संगीतकार रुफस वेनराइटले उक्त अवार्ड ग्रहण गरेका थिए।
तिब्बती परम्पराअनुसार दलाई लामाले आफ्नो उत्तराधिकारी चयन गर्ने योजना सार्वजनिक गरेपछि पछिल्लो समय चीनसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ। सन् १९५९ देखि निर्वासनमा रहेका दलाई लामाले आफ्नो पुनर्जन्म ‘स्वतन्त्र विश्व’मा हुने बताउँदै आएका छन्। तर चीनले भने उत्तराधिकारी चयन चिनियाँ कानुन, धार्मिक परम्परा र बेइजिङको स्वीकृतिअनुसार हुनुपर्ने अडान दोहोर्याउँदै आएको छ।


