विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चुनावी प्रचारप्रसारका क्रममा झापाको दमक–३ स्थित नेकपा एमालेको पार्टी कार्यालय पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनले कार्यालयमा पुगेपछि उपस्थित नेता–कार्यकर्तासँग हात मिलाउँदै मत मागेका थिए।
बालेन शाह एमाले कार्यालय पुगेपछि केही समर्थकहरूले हुटिङ समेत गरेका थिए। हाल झापा–५ क्षेत्रलाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरिरहेका शाहले दमकका विभिन्न टोल तथा चोकबजारमा नागरिक भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका छन्।
उनले दमक नगरपालिका वडा नम्बर ७, १, २ र ३ लाई समेट्दै दिनभर विभिन्न स्थानमा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्। सचिवालयका अनुसार पशुहाट (लेखनाथ चोक), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर क्षेत्र, हिमालय माध्यमिक विद्यालय अगाडिको पाङ्गिनी चोक सम्पर्क कार्यालय, शिवालय मन्दिर, आम चोक, बेलडाँगी–२ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) तथा डिपु चोकमा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ।
घरदैलो कार्यक्रममार्फत बालेनले स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्ने प्रयास गरिरहेका छन्। उनले स्थानीय विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा सुशासनलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइरहेका छन्।
बालेन शाहको एमाले कार्यालयमै पुगेर मत माग्ने शैलीलाई स्थानीय राजनीतिक वृत्तमा फरक रणनीतिका रूपमा हेरिएको छ। यसले प्रतिस्पर्धात्मक राजनीतिक माहोललाई थप रोचक बनाएको विश्लेषण गरिएको छ।


