काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र रूपमा भइरहेको छ।
आयोजनाका सुरुङ तथा मुख्य संरचना बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको टोली खोजी तथा उद्धारमा जुटेको छ। उद्धार टोलीले पाँचवटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरलगायत उपकरण प्रयोग गरिरहेको छ।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्ला भत्किएका फलामे संरचना तथा ठूला ढुंगासहितको डेब्रिस थुप्रिएको छ। रातदिन निरन्तरको प्रयासपछि माथिल्लो भागबाट करिब तीन फिट सुरुङको मुख खोलिएको छ।
सुरुङको मुख केही खुलेसँगै उद्धार टोली करिब १५–२० मिटर भित्रसम्म प्रवेश गरिसकेको छ। यद्यपि एक्स्क्याभेटर तथा अन्य मेसिनरी उपकरण भित्र लैजान सुरुङको मुख पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ।
उद्धार टोलीले थप सातवटा ठूला ढुंगा ब्लास्टिङमार्फत हटाउने तयारीसमेत गरेको छ।
करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङभित्र जम्मा भएको माटो र लेदो हटाउँदै अघि बढेपछि मात्रै पावरहाउससहित आयोजनाका अन्य संरचनासम्म पुग्न सकिने अवस्था रहेको बताइएको छ।


