कीर्तिपुर (काठमाडौँ), २० असार: मुलुककै जेठो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस अन्तर्गतको छात्राबासमा सरसफाइ र आधारभूत व्यवस्थापन अभाव देखिएपछि सांसदहरूको टोलीले तत्काल सुधार गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको टोलीले बिहीबार अपराह्न त्रिविको ईश्वरी कन्या छात्राबासको ‘ङ’ ब्लकमा पुगेपछि भान्साघर र पानीको व्यवस्थामा देखिएको लापरवाहीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सुधार गर्न निर्देशन दिएको हो।
टोलीमा समितिका सभापति अब्दुल खान, सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर सुवेदी सहभागी थिए।
छात्राबासमा संसदीय निरीक्षण सम्भवतः पहिलोपटक भएको हो। निरीक्षणका क्रममा विद्यार्थीहरूले भान्साघर अत्यन्तै फोहर रहेको, सरसफाइको अभाव भएको, भाँडाकुँडा, बस्ने टेबुल र कुर्सीहरू समेत निकै फोहर भएको गुनासो गरे। समस्या राख्दा प्राचार्य कार्यालय, स्ववियु पदाधिकारी तथा छात्राबासका वार्डेनहरूले बेवास्ता मात्र हैन, अपमानजनक व्यवहारसमेत गर्ने गरेको छात्राहरूको आरोप छ।
एमएस्सी तेस्रो सेमेस्टरकी छात्रा सविना रेग्मीले भान्साको समस्या सुनाउँदा वार्डेनले “सरकारी होटलमा बसेपछि जे मिल्छ, त्यसै चलाउनु” भन्ने रुखो जवाफ दिएको उल्लेख गर्दै सरसफाइ र पानीको समस्या समाधानका लागि विश्वविद्यालय असंवेदनशील रहेको आरोप लगाइन्।
छात्रा रोहना जोशीले महिनावारीको बेला समेत प्रयोग गर्न नहुने धमिलो पानी आउँदा असहज स्थिति सृजना भएको बताइन्। कुनै पनि आपतमा गुनासो गर्दा “सरकारी काम हो, समय लाग्छ” भन्ने जवाफ पाइने र सामान्य मर्मतसम्भार पनि विद्यार्थीले चन्दा उठाएर गर्नुपर्ने अवस्था भएको बताइन्।
छात्राहरूको गुनासो सुनेपछि सांसदहरूले त्रिवि प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग प्रत्यक्ष रूपमा सोधपुछ गरेका थिए। समितिका सभापति खानले त्रिविको जस्तो प्रतिष्ठित शिक्षण संस्थामा सरसफाइ र स्वच्छ पानीजस्तो आधारभूत सुविधा नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै मानव अधिकार उल्लंघन भएको टिप्पणी गरे।
डा. ईश्वर सुवेदीले छात्राबासमा खाद्य सुरक्षाको प्राथमिकता दिइनुपर्ने बताउँदै पानीको नमूना संकलन गरी परीक्षण गर्ने जानकारी दिए। समस्याको शीघ्र समाधान नभए समितिले थप कदम चाल्ने चेतावनीसमेत दिनुभयो।
स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थीले नरम स्वरमा राखेका माग बेवास्ता गर्ने तर दबाबमूलक शैलीमा उठेपछि मात्र कार्यान्वयन गर्ने प्रवृत्तिका कारण समस्या जटिल भएको बताए। “शौचालय व्यवस्थापनको माग पटकपटक राख्दा नसुनेपछि, स्ववियुले प्रिन्सिपल कार्यालयकै शौचालय बन्द गरेपछि मात्र सुनुवाइ भयो,” भन्दै उनले व्यवस्थापकीय कमजोरीप्रति आक्रोश व्यक्त गरे।
सांसदहरूको निरीक्षणपछि त्रिवि छात्राबास व्यवस्थापनमा सुधार हुने अपेक्षा विद्यार्थीहरूले व्यक्त गरेका छन्।


