Tuesday, April 21, 2026
Homeमुख्य समाचारतिनिधिसभा निर्वाचन सुरु, करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

तिनिधिसभा निर्वाचन सुरु, करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहानदेखि देशभर मतदान सुरु भएको छ। प्रतिनिधिसभाका कुल २ सय ७५ सिटमध्ये १ सय ६५ सिट प्रत्यक्ष निर्वाचन प्रणाली र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट टुङ्गो लाग्नेछ।

जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। मतदान सुरु भएसँगै देशभरका मतदानस्थल तथा संवेदनशील क्षेत्रमा चारवटै सुरक्षा निकायको संयुक्त परिचालन गरिएको छ।

निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी खटिएका छन्। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजनाअनुसार ७९ हजार नेपाली सेना फिल्डमा परिचालित छन्। त्यस्तै, ७३ हजार नेपाल प्रहरी र ३१ हजार सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ हजार ८ सय जनशक्ति सूचना सङ्कलन तथा सुरक्षा समन्वयका लागि परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेका अनुसार आज करिब साढे ३ लाख सुरक्षाकर्मी निर्वाचन सुरक्षामा फिल्डमा खटिएका छन्।

प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालन गरेको जनाएको छ। नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन अवधिभर सुरक्षा सूचना सङ्कलन गर्ने जिम्मेवारी पाएको छ।

एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको सुरक्षामा प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरी दोस्रो घेरामा र नेपाली सेना तेस्रो घेरामा परिचालित छन्। यस व्यवस्थाअनुसार मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका