काठमाडौं । भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ। विजय नेतृत्वको तमिलगा वेत्री कझगम लाई भारतीय राष्ट्रिय कांग्रेस ले सरकार गठनका लागि औपचारिक रूपमा सशर्त समर्थन घोषणा गरेको छ।
तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकर द्वारा हस्ताक्षरित पत्रमा जनताले टिभिकेलाई स्पष्ट र व्यापक जनादेश दिएको उल्लेख गरिएको छ। सोही आधारमा कांग्रेस विधानमण्डल दलले टिभिके नेतृत्वमा सरकार गठनमा समर्थन गर्ने निर्णय गरेको हो।
तर कांग्रेसले आफ्नो समर्थन सर्तसहित रहने स्पष्ट पारेको छ। पार्टीले संविधानमा विश्वास नगर्ने “साम्प्रदायिक शक्तिहरू” लाई गठबन्धनबाट बाहिर राख्नुपर्ने सर्त अघि सारेको छ।
कांग्रेसले यो सहकार्यलाई सामाजिक न्याय, विकास र संवैधानिक मूल्यलाई अघि बढाउने अवसरका रूपमा लिएको जनाएको छ। साथै, आगामी स्थानीय तहदेखि लोकसभा र राज्यसभासम्म गठबन्धन विस्तार गर्ने संकेत पनि दिएको छ।
हाल २३४ सदस्यीय विधानसभा मध्ये टिभिकेले १०८ सिट जितेको छ, जुन बहुमतभन्दा १० सिट कम हो। यसैले सरकार गठनका लागि कांग्रेस र वामपन्थी दलहरूको समर्थन निर्णायक बन्ने देखिएको छ।
यसैबीच, तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर ले टिभिके प्रमुख विजयसँग सरकार गठनबारे छलफल गर्न भेट्ने तयारी गरेका छन्।


