काठमाडौं । आजभोलि जीवनशैली अत्यन्तै व्यस्त र भागदौडपूर्ण बन्दै जाँदा मानिसहरूमा तनावको स्तर बढ्दै गएको छ । व्यावसायिक र व्यक्तिगत समस्याले धेरैलाई मानसिक दबाबमा राखेको छ, जसका कारण मानिसहरू तनाव घटाउने उपाय खोजिरहेका छन् ।
धेरैले तनाव कम गर्न चिया, चुरोट वा मदिराको सहारा लिन्छन् । तर बिना कुनै खर्च सजिलै अपनाउन सकिने प्रभावकारी उपाय भने संगीत हो । नियमित रूपमा संगीत सुन्ने बानीले मुड सुधार्नुका साथै शरीर र दिमागमा सकारात्मक असर पार्छ ।
स्वास्थ्यसम्बन्धी अध्ययनअनुसार, मनपर्ने संगीत सुन्दा मस्तिष्कमा ‘फिल गुड’ हर्मोन निस्किन्छ, जसले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । साथै, संगीतले शरीरमा कोर्टिसोल (तनाव हर्मोन) को स्तर घटाएर दिमागलाई शान्त बनाउँछ ।
यदि राति निदाउन समस्या हुन्छ भने सुत्नुअघि मन्द र शान्त संगीत सुन्नु लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिई राम्रो निद्रामा सहयोग पुर्याउँछ ।
त्यसैगरी, हल्का इन्स्ट्रुमेन्टल संगीतले ध्यान र एकाग्रता बढाउन मद्दत गर्छ । अध्ययन वा कामका क्रममा यस्तो संगीत सुन्दा ध्यान भंग नहुने भएकाले धेरैले यसलाई उपयोग गर्ने गरेका छन् ।
संगीतले भावनात्मक रूपमा पनि ठूलो प्रभाव पार्छ । मन खिन्न भएको बेला मनपर्ने गीतले तुरुन्तै मुड सुधार्न सक्छ र सकारात्मक सोच विकास गर्न मद्दत गर्दछ ।
केही अनुसन्धानहरूले संगीतले मुटुको स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्ने देखाएका छन् । शान्त संगीतले रक्तचाप नियन्त्रण गर्न र मुटुको धड्कन स्थिर राख्न सहयोग पुर्याउँछ ।
स्वास्थ्य विज्ञहरूका अनुसार, दैनिक केही समय संगीत सुन्नु सरल तर प्रभावकारी बानी हो । यसले मानसिक शान्ति दिनुका साथै शारीरिक स्वास्थ्यमा पनि सुधार ल्याउन मद्दत गर्छ । त्यसैले, आफ्नो दैनिक जीवनमा संगीतलाई समावेश गर्नु उपयोगी हुन सक्छ ।


