Friday, September 18, 2026
Homeसामाचारडीडीसी अनियमितताको प्रतिवेदन सार्वजनिक गर्न र दूध किसानको भुक्तानी दिन सरकारसँग चौलागाईंको...

डीडीसी अनियमितताको प्रतिवेदन सार्वजनिक गर्न र दूध किसानको भुक्तानी दिन सरकारसँग चौलागाईंको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता रकम तत्काल भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले २०८१ सालमा डीडीसीमा भएको अनियमितताको छानबिन गर्न समिति गठन गरेको र उक्त समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँ अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको उल्लेख गरे।

‘अर्थ मन्त्रालयले डीडीसीभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न समिति गठन गर्‍यो र प्रतिवेदन पनि बुझाइयो। प्रतिवेदनले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँ अनियमितता भएको देखाएको छ। त्यो प्रतिवेदन अहिले कहाँ छ ? कहिले सार्वजनिक हुन्छ ? र दूध किसानले कहिले आफ्नो भुक्तानी पाउँछन् ?’ उनले प्रश्न गरे।

सांसद चौलागाईंले किसानले उत्पादन गरेको दूधको रकम समयमै नपाउँदा आर्थिक समस्या झेल्नुपरेको भन्दै सरकारलाई बक्यौता भुक्तानी सुनिश्चित गर्न आग्रह गरे।

बैठकमा उनले काभ्रेको नवबुद्ध गाउँका एक नेपाली युवाको भारतमा भएको शंकास्पद मृत्युबारे पनि सरकारको ध्यानाकर्षण गराए। रोजगारीको खोजीमा भारत पुगेका ती युवाको यही महिनाको १३ गते मृत्यु भएको र परिवारले घटनामाथि शंका व्यक्त गरेको उनले बताए।

‘देशले पर्याप्त रोजगारी दिन सकेन। रोजगारीको खोजीमा भारत पुगेका एक नेपाली युवाको शंकास्पद मृत्यु भएको छ। घटनाको निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

सांसद चौलागाईंले दुवै विषयमा सरकार संवेदनशील बन्नुपर्ने र आवश्यक कदम चाल्नुपर्ने माग गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका