काठमाडौं। राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याई विभिन्न ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो।
यसै प्रकरणमा भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ। उनीहरूविरुद्ध ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै उक्त प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको उजुरीका आधारमा साइबर ब्यूरो, भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो।
उक्त कसुरमा पक्राउ परेकामाथि अहिले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस प्रकरणमा हालसम्म ९ जना शङ्कास्पद व्यक्तिहरू पक्राउ परेका छन् र अनुसन्धान जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।


