काठमाडौं: ट्रेड टावर लिमिटेडको आईपीओ आज (आइतबार) गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओमा २१ लाख ७१ हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन परेको थियो। मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको हो।
कम्पनीले सर्वसाधारणका लागि गत जेठ १४ देखि २० गतेसम्म ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर निष्काशन गरेको थियो। प्राप्त आवेदकमध्ये २० लाख ५९ हजार ३८८ जना योग्य ठहरिएका थिए, जसबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ताको आवेदन प्राप्त भएको थियो।
बाँडफाँडमा न्यूनतम १० कित्ताका दरले ३ लाख २९ हजार ६५० जनालाई शेयर प्राप्त भएको छ। बाँकी बचेका ५.१९ कित्ता शेयर सोही समूहभित्र १० देखि १,००० कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।
बाँडफाँड प्रक्रिया आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतिमा नियामक निकाय, निष्काशन कम्पनी र बिक्री प्रबन्धकका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो।
आईपीओको नतिजा ‘मेरो शेयर’ पोर्टल तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।


