Monday, April 27, 2026
Homeअन्तराष्ट्रियटोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूर्वानुमान

टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूर्वानुमान

टोकियो: जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले सन् २०२५ को आर्थिक वर्षमा आफ्नो खुद नाफा ३४.९ प्रतिशतले घटेर ३.१ ट्रिलियन येन (झन्डै २१.६ अर्ब अमेरिकी डलर) मा सीमित हुने अनुमान गरेको छ। कम्पनीका अनुसार, यो गिरावटको मुख्य कारण अमेरिकी भन्सार दरमा वृद्धि र येनको अमेरिकी डलरसँगको मूल्यवृद्धि हो।

टोयोटाले चालु आर्थिक वर्ष (२०२५ मार्चअन्त्यसम्म) मा ४८.५ ट्रिलियन येनको रेकर्ड बिक्री हुने अपेक्षा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढी हो। तर, कम्पनीको सञ्चालन नाफा भने २०.८ प्रतिशतले घटेर ३.८ ट्रिलियन येन हुने बताइएको छ।

अघिल्लो आर्थिक वर्षमा टोयोटाले ४.७७ ट्रिलियन येन खुद नाफा कमाएको थियो, जुन एक वर्षअघिको तुलनामा ३.६ प्रतिशतले कम हो। सोही अवधिमा कम्पनीको बिक्री ६.५ प्रतिशतले बढेर ४८.०४ ट्रिलियन येन पुगेको थियो।

टोयोटाका अध्यक्ष तथा सीईओ कोजी सातोले अमेरिकी भन्सारको असर अप्रिल र मे २०२५ मा मात्रै झन्डै १८० अर्ब येनको नाफामा घाटा हुने अनुमान गरिएको बताए। उनले भने, “भन्सार सम्बन्धी विवरण अझै पूर्ण रूपमा स्पष्ट नभएकाले भविष्यको पूर्वानुमान गर्न कठिन भइरहेको छ।”

टोयोटाले हाल जापानबाट वार्षिक करिब ५ लाख गाडी अमेरिका निर्यात गर्दै आएको छ। यस सन्दर्भमा सातोले छोटो अवधिमा ढुवानी मार्ग समायोजन गरिने र दीर्घकालमा स्थानीय बजारलाई ध्यानमा राखी उत्पादनको स्थानीयकरण गरिने योजना रहेको बताए।

येनको मूल्यवृद्धिले पनि कम्पनीको नाफामा गम्भीर असर पार्ने अपेक्षा गरिएको छ। यो परिवर्तनले टोयोटाको सञ्चालन नाफामा ७४५ अर्ब येनको कमी ल्याउने अनुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका