काठमाडौँ — चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा पोखरा राइनोजको सामना गर्ने भएको छ । ईपीएलको राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नका लागि क्वालिफायरमा खेल्ने प्रावधानअनुरुप बुधबार बिहान चितवन र पोखरा भिड्न लागेका हुन् ।
भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच हुनुपर्ने मंगलबारको खेल टस हुन नपाई रद्द भएपछि सबै समीकरण तयार भएको थियो । यी दुई टोलीले नै बुधबार हुने दोस्रो खेल इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
चितवन पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको थियो । मंगलबारको नतिजाबाट १ अंक जोडेको भैरहवाले पोखरासँगै समान ७ अंक जोडेको थियो । तर सर्वाधिक खेल जितेको हिसाबमा पोखराले भैरहवालाई उछिनेर दोस्रो स्थान हात पार्दै क्वालिफायर तय गरेको हो ।
पोखराको ३ खेलको तुलनामा भैरहवाले दुई खेलमात्र जितेको थियो । भैरहवासँगको खेल नभएपछि १ अंक पाएको काठमाडौं किंग्स प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बन्यो । काठमाडौं किंग्स र ललितपुर प्याट्रियट्सको समान ३ अंक भए पनि काठमाडौं राम्रो रनरेटका कारण अगाडि रह्यो ।


