दाङ: तुलसीपुरको टरिगाउँ विमानस्थलको विस्तार गर्न पहल सुरु भएको छ। सत्ता साझेदार दलका नेताहरूले यस विषयमा सक्रियता देखाएका छन्।
आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल तथा नेपाली कांग्रेसका नेता, पूर्वसिँचाईमन्त्री, र दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेका छन्। छलफलमा उनीहरूले विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट र जग्गा व्यवस्थापनको माग गरेका थिए।
साथै, विमानस्थल विस्तारसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि मन्त्री पाण्डेलाई प्रस्तुत गरिएको छ। पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारको लागत लगभग तीन अर्ब ४२ करोड २८ लाख रुपियाँ अनुमान गरिएको छ। प्रस्तावित योजना अनुसार, हालको ७५० मिटरको धावनमार्गलाई १,५०० मिटरमा विस्तार गरिनेछ।


