काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह भारी मतान्तरसहित विजयी भएका छन्।
बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।
यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १ हजार ८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १ हजार ४६१ मत प्राप्त गरेका छन्।
ओलीको बलियो प्रभाव रहेको मानिने झापा–५ मा बालेन शाहको जितलाई देशभरकै चर्चित र रोमाञ्चक परिणामका रूपमा हेरिएको छ। ओलीले यसअघि झापाका विभिन्न क्षेत्रबाट ६ पटक संसदीय चुनाव जितिसकेका थिए।
नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा स्थापित ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् र लामो समयदेखि एमालेको नेतृत्व गर्दै आएका छन्। त्यसैले पनि उनको प्रभाव रहेको क्षेत्रमा बालेन शाहको जितलाई अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा विश्लेषण गरिएको छ।
यस जितसँगै बालेन शाहले पहिलो पटक संघीय संसदमा प्रवेश गरेका छन्। यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेर चर्चामा आएका शाह अहिले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका छन्।
युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको विजयलाई नयाँ पुस्ताको राजनीतिक सहभागिता र परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ। साथै स्वतन्त्र राजनीतिप्रति जनतामा बढ्दो विश्वास देखिएको विश्लेषण गरिएको छ।


