काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेन अमेरिकी राष्ट्रपतिको इतिहासमा अहिलेसम्म कै सबैभन्दा बढी बिदा लिने राष्ट्रपति बनेका छन्। उनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएका छन् ।
न्युयोर्क पोस्टका अनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको १३२६ दिन भइसकेको छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिएका छन् भने उनले ७९४ दिन मात्र काम गरेका छन् ।
रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा लिइरहेका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसका अनुसार बाइडेनले ४ वर्षमा जति बिदा लिएका छन्, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ ।
यसअघि ट्रम्पले आफ्नो कार्यकालमा १४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिएका थिए । जबकि बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदामा थिए। जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए । विश्वको उथलपुथलका बीच अमेरिकी राष्ट्रपतिले लामो समय बिदा लिएको भन्दै बाइडेनको आलोचना भइरहेको छ।
बाइडेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा गएको बेला आफ्नो काममा जोडिएको अवस्थामा रहने बताएका छन्। उसले नियमित रूपमा आवश्यक कलहरू प्राप्त गर्ने र सजिलै सम्पर्क गर्न सकिने अवस्थामा बसेको स्पष्ट गरेका छन्। बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन्।
८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपति बनेका थिए।


