जुम्ला: गुठीचौर गाउँपालिका–१ का नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँका ४८० घरधुरी विगत तीन महिनादेखि विद्युत् सेवा विहीन छन्।
स्थानीय अदालीखोला लघुजलविद्युत् आयोजना अन्तर्गतको ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर गत फागुनदेखि बिग्रिएपछि बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको हो। यता, समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीहरूको गुनासो छ।
बिजुली नहुँदा बालबालिकाको पढाइ, मोबाइल चार्ज गर्न, कुटानी–पिसानी मिल, फर्निचर उद्योग जस्ता दैनिक गतिविधिहरूमा गम्भीर असर परेको स्थानीय गणेश ऐडीले जानकारी दिनुभयो।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको स्पष्ट पार्नुभयो।
गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले तीन लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको र आवश्यकता अनुसार थप बजेटको व्यवस्थापन गरिने जानकारी दिनुभयो। उहाँले चाँडै विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभयो।


