Wednesday, October 21, 2026
Homeराजनीतिजीएसआईबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने सत्तापक्ष र विपक्षी सांसदको माग

जीएसआईबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने सत्तापक्ष र विपक्षी सांसदको माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे सरकारले छिट्टै स्पष्ट पार्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चीनले सार्वजनिक गरेको विज्ञप्तिमा जीएसआईमा नेपाल सहमत भएको उल्लेख भएकाले प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै प्रस्ट पार्नुपर्ने बताए। साथै, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकको विषय उठाइए पनि त्यसबारे चीनको विदेश मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नभएकोप्रति असन्तोष प्रकट गरे। उनले दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै समस्याको समयमै समाधान गर्नुपर्ने धारणा राखे।

त्यसैगरी, नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको विदेश मन्त्रालयले नेपालले जीएसआईमा समर्थन जनाएको दाबी गरेकोप्रति प्रश्न उठाउँदै यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए। नेपाल कुनै पनि सैन्य रणनीतिमा उभिन नसक्ने भन्दै उनले प्रधानमन्त्री ओलीले समर्थन गरेको भए नेपाल शक्तिशाली राष्ट्रहरूको सुरक्षा पासोमा फस्ने खतरा हुने टिप्पणी गरे।

माओवादी सांसद लेखनाथ दाहालले भने भारत र चीनबीच लिपुलेकमा व्यापारिक सम्बन्ध विस्तार गर्ने सहमति खेदजनक भएको बताए। परराष्ट्र मामिलामा सिंगो देश र संसद् एकजुट भएर पर्याप्त छलफल गरी साझा धारणा बनाउनुपर्नेमा उनले जोड दिए। साथै, मन्त्रिपरिषद् र संसद्ले मिलेर उक्त सहमतिको विरोधमा प्रतिवाद गर्नुपर्ने धारणा राखे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका