काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताएका छन्।
विश्व आदिवासी दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामथ्र्यलाई थप मजबुत बनाउने बताएका हुन्।
ओलीले भनेका छन्, “नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामीबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामथ्र्य बढाउनेछ।”
नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै उनले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिए।
विश्व आदिवासी दिवसका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गरे।
अध्यक्ष ओलीले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैमा आह्वानसमेत गरेका छन्।


