Monday, June 22, 2026
Homeसामाचारजलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपलाई थप जटिल बनाउँदै लगेको बताउनुभएको छ। काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक विविधताले भरिपूर्ण छ। यहाँको भू-भाग, जलवायु र वातावरणीय संरचनाले प्राकृतिक तथा मानव सिर्जित विपद्को सम्भावना धेरै बनाएको छ। विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका संरचनाहरूलाई थप बलियो बनाउनु जरुरी छ।” सङ्घदेखि स्थानीय तहका वडासम्मका संरचनाहरूलाई सुदृढ बनाउन आवश्यक रहेको उहाँको धारणा थियो।

गृहमन्त्री लेखकले नेपाल विपद् जोखिमको उच्च जोखिममा रहेको बताउँदै सबै पक्ष मिलेर यस क्षेत्रमा पहल गर्नुपर्नेमा जोड दिनुभयो। “देशभरका बहुक्षेत्रीय र बहुआयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन अत्यन्त महत्वपूर्ण रहने विश्वास छ,” उहाँले भन्नुभयो।

नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिममा विश्वकै संवेदनशील मुलुकहरूमध्ये एक भएको उल्लेख गर्दै उहाँले विविध भूगोलले प्राकृतिक सम्पदामा धनी भए पनि जोखिमका दृष्टिकोणले संवेदनशील बनाएको तथ्य औंल्याउनुभयो।

गृहमन्त्री लेखकले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो, चट्याङजस्ता विपद् बढ्दै गएकाे र यी अझ जटिल बन्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्ले जलवायु परिवर्तनका चुनौतीहरूप्रति हामीलाई थप संवेदनशील बनाएको छ। यसका लागि बहुआयामिक र वैज्ञानिक दृष्टिकोण आवश्यक छ।”

उहाँले समुदायमा आधारित दृष्टिकोण र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै, प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनलाई बलियो बनाएर यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

गृहमन्त्री लेखकले प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सक्ने प्रविधि र सूचना प्रणाली सुदृढ गर्दै विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारमा उल्लेखनीय प्रगति गरेको उहाँले जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका