जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान ६:०० बजेदेखि ८:०० बजेसम्म घरबाहिर निस्कन अनुमति दिएको छ।
प्रशासनका अनुसार कर्फ्यु कायम रहे पनि नागरिकको सुविधा र स्वास्थ्यसम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू भने निर्बाध रूपमा सञ्चालन हुनेछन्।
अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोकेका सवारी साधन, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री–वितरणमा कुनै रोक नलगाइएको प्रशासनले जनाएको छ। साथै, हवाई सेवा पनि नियमित रूपमा सञ्चालन भइरहेको छ।
त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका प्रतिनिधि, तीर्थयात्री, बिरामी तथा विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई सहज आवागमनको व्यवस्था गरिएको छ। उनीहरूले सम्बन्धित निकायबाट जारी भएको आधिकारिक परिचयपत्र वा हवाई टिकट देखाएर आवतजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।


