Friday, May 8, 2026
Homeराजनीतिचैत १२ मा नवनिर्वाचित सांसदको शपथ, ज्येष्ठ सदस्यले गराउनेछन् नेतृत्व

चैत १२ मा नवनिर्वाचित सांसदको शपथ, ज्येष्ठ सदस्यले गराउनेछन् नेतृत्व

काठमाडौं । संघीय संसद सचिवालयले आगामी चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ।

संविधानअनुसार नयाँ प्रतिनिधि सभा गठन भएपछि सभामुख निर्वाचित नहुँदासम्म सबैभन्दा ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा संसद बैठक सञ्चालन गर्ने व्यवस्था छ। सोही अनुसार चैत १२ गते बिहान ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि अन्य सदस्यहरूलाई शपथ गराउनेछन्।

यस पटक प्रतिनिधि सभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसी (७८) रहेका छन्। यद्यपि संसद सचिवालयले औपचारिक रूपमा ज्येष्ठ सदस्यको घोषणा भने गर्न बाँकी रहेको छ। सचिवालयले सबै सदस्यहरूको विवरण परीक्षणपछि ज्येष्ठ सदस्यको टुंगो लगाउने जनाएको छ।

सभामुख निर्वाचित नहुँदासम्म केसीले सभामुखको भूमिका निर्वाह गर्नेछन्। सभामुख र उपसभामुख चयन भएपछि भने उनको उक्त भूमिका समाप्त हुनेछ र त्यसपछि नियमित रूपमा सभामुख, उपसभामुख तथा मनोनित सदस्यहरूले बैठक सञ्चालन गर्नेछन्।

केसी पञ्चायतकालदेखि नै सक्रिय राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय पञ्चायत निर्वाचनबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा मन्त्री बनेका थिए। बहुदलपछि पनि उनी पटक–पटक मन्त्री भएका छन् र नुवाकोटबाट चार पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्।

उनी नेपाल विद्यार्थी संघका संस्थापक सदस्यसमेत हुन्। प्रारम्भिक तदर्थ समितिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँगै केसी पनि सदस्य थिए। राजनीतिसँगै उनी पूर्व प्राध्यापक पनि हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका