काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तमा ७० वर्षभन्दा बढी उमेरकी एक महिलालाई मृत ठानेर चिसो राख्ने कफिनमा राखिएपछि फेरि जीवनको संकेत देखिएको घटना सार्वजनिक भएको छ। क्यान्सर र लामो समयदेखि मस्तिष्कमा रगत जम्ने समस्याबाट पीडित ती महिलालाई चिकित्सकहरूले उपचार सम्भव नभएको बताएपछि परिवारले घरमै अन्तिम स्याहार गरिरहेको थियो।
सेप्टेम्बर ८ मा परिवारले उनको श्वासप्रश्वास र नाडी अत्यन्त कमजोर भएको र जीवनका स्पष्ट संकेत नदेखिएको ठानेपछि बाहिर रहेका आफन्तहरूलाई पर्खेर अन्तिम बिदाइ गराउन उनलाई चिस्यानयुक्त कफिनमा राखेको थियो।
तर, भोलिपल्ट साँझ उनकी बुहारीले कफिनभित्रबाट हल्का आवाज सुनेपछि परिवारले कफिन खोलेर हेर्दा ती महिलामा फेरि जीवनको संकेत देखिएको थियो। उनलाई तत्काल कफिनबाट बाहिर निकालिएको थियो।
सेप्टेम्बर ११ मा आफन्तहरू भेट्न पुग्दा ती महिला आँखा खोल्न सक्ने अवस्थामा थिइन्। तर उनको अवस्था अत्यन्त कमजोर थियो र उनी खाना तथा पानी खान सक्ने अवस्थामा थिइनन्। सोही रात उनको पुनः मृत्यु भयो र सेप्टेम्बर १३ मा अन्तिम संस्कार गरिएको थियो।
घटनाबारे सामाजिक सञ्जालमा चर्चा भएपछि यसको सत्यतामाथि प्रश्न उठेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार परिवारका सदस्य तथा गाउँका स्थानीय अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।
स्थानीय अधिकारीका अनुसार परिवारले महिलालाई गहिरो रूपमा जमाउने डीप–फ्रिजिङ नभई शरीरलाई चिसो राख्ने रेफ्रिजरेसन मोड मा कफिनमा राखेको थियो। स्थानीय अधिकारी र सञ्चारमाध्यमका रिपोर्टमा ती महिलाको अवस्था चिकित्सकीय रूपमा ‘एप्यारेन्ट डेथ’ (मृत्युजस्तो देखिने अवस्था) हुन सक्ने उल्लेख गरिएको छ, जसमा श्वासप्रश्वास र मुटुको धड्कन अत्यन्त कमजोर हुँदा बाहिरी रूपमा व्यक्ति मृतजस्तो देखिन सक्छ।
यस घटनाले गम्भीर बिरामीको मृत्यु पुष्टि गर्दा चिकित्सकीय परीक्षण र सावधानीको महत्त्वबारे पनि चर्चा बढाएको छ।


