काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताउनुभएको छ।
चीनको औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताउनुभएको हो।
उहाँले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गर्नुभयो । आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भए पनि छिटै भारत भ्रमणमा जानेसमेत उहाँले बताउनुभयो। त्यस्तै उहाँले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनुभयो।
चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको जानकारी दिंदै भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको बताउनुभयो।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो।


