काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।
कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत र संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्दै कार्यदल गठन गर्ने निर्णय गरेकी हुन्।
छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको वर्तमान अवस्था, उत्पादन वृद्धि, गुणस्तर सुधार, बजार विस्तार तथा किसानको हित संरक्षणका विषयमा विस्तृत समीक्षा गरिएको थियो।
मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
उनले चिया तथा कफी क्षेत्रको दीर्घकालीन कार्यदिशा तय गर्न तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको कार्यदललाई दुई साताभित्र अन्तिम प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छन्।


