Wednesday, June 24, 2026
Homeसामाचारचितवन राष्ट्रिय निकुञ्जले आजदेखि गैँडा स्थानान्तरण गर्ने

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि गैँडा स्थानान्तरण गर्ने

चितवन: चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण कार्य सुरु गरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँबाट चारवटा गैँडालाई पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो।

केही वर्षअगाडि नै गैँडा आन्तरिक स्थानान्तरणको अध्ययन भए पनि यो कार्य गत वर्षबाट मात्रै सुरु भएको थियो। गत वर्ष छ वटा गैँडा सफलतापूर्वक स्थानान्तरण गरिएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार स्थानान्तरणको लागि आवश्यक सबै तयारी पूरा गरिएको छ। प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट स्थानान्तरण प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो। हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी र सुरक्षार्थ खटिएको सेनाको सहयोगमा स्थानान्तरण कार्य अघि बढाइएको छ।

डा. पन्तले भन्नुभयो, “अहिले दुई भाले र दुई पोथी गैँडा स्थानान्तरण गरिँदैछ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण थालिएको हो। प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको उल्लेख थियो। स्थानान्तरणले वासस्थान सहज बनाउने अपेक्षा गरिएको छ।

स्थानान्तरणका लागि वयस्क गैँडालाई प्राथमिकता दिइएको छ भने निगरानी प्रक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो। स्थानान्तरण कार्य पूरा गर्न दुई साता लाग्ने अनुमान गरिएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार स्थानान्तरणपछि पश्चिम र पूर्वी क्षेत्रका गैँडाबीच संसर्ग भई प्रजननमा सहयोग पुग्ने आशा गरिएको छ। पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने तयारी गरिएको छ।

स्थानान्तरणको अनुगमनका लागि विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलको टोली चितवन आइपुगेको छ।

तीन वर्षअघि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोलीले गैँडा स्थानान्तरणको अध्ययन गरेको थियो। पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन्। तीमध्ये बर्दियामा ३८, शुक्लाफाँटामा १७, पर्सा राष्ट्रिय निकुञ्जमा ३ तथा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका