काठमाडौँ: चन्द्रागिरि नगरपालिकाले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री र वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। शुक्रबार सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागलगायत मुखमा राख्ने वा रस लिने सूर्तिजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेन्ट, छात्राबास, ब्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थानमा सूर्तिजन्य पदार्थको सेवन र बिक्री सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ अनुसार निषेध गरिएको छ।”
विज्ञप्तिमा सूर्तिजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा नकारात्मक असर गर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ गरिएका पदार्थहरूले भूमि प्रदूषण गर्ने, ढल जाम गराउने र शहरको सुन्दरतामा पनि प्रतिकूल असर पर्ने बताइएको छ।
नगरपालिकाले सार्वजनिक स्थानमा धूमपान र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागजस्ता पदार्थहरूको बिक्री वितरणलाई यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाएको छ।
सूचनामा भनिएको छ, “कसैले यो सूचनाको उल्लङ्घन गरी सूर्तिजन्य पदार्थको बिक्री गरेको पाइएमा नगर प्रहरीमार्फत जफत गरिने र सम्बन्धित व्यवसायीलाई कानुनअनुसार अधिकतम सजाय गरिने छ।”


