Wednesday, April 29, 2026
Homeसामाचारचक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदानमा काम अघि...

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदानमा काम अघि बढ्ने

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण मानिएको चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीन सरकारबीच औपचारिक सहायता सम्झौता सम्पन्न भएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार कार्य अघि बढ्ने भएको हो।

परियोजना अन्तर्गत ८.२ किलोमिटर लामो सडक खण्डलाई आधुनिक रूपमा विस्तार गरिनुका साथै आवश्यक पुलहरू निर्माण गरिनेछ। यसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने जनाएको छ।

मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा देखिन सक्ने प्रशासनिक तथा कानुनी समस्यालाई छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै २४ घण्टाभित्र सहजीकरण गर्ने बताएका छन्।

उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा चीनबाट थप लगानी र प्राविधिक सहयोग अपेक्षित रहेको बताए।

यसअघि कोटेश्वरदेखि कलंकीसम्मको पहिलो चरणको विस्तार सन् २०१९ मा सम्पन्न भइसकेको थियो। दोस्रो चरणको सम्झौताले चक्रपथ विस्तारलाई पूर्णता दिने दिशामा महत्वपूर्ण कदम मानिएको छ।

चिनियाँ राजदूत झाङ माओमिङले नेपालको पूर्वाधार विकासमा चीनको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै लगानीका लागि अनुकूल वातावरण बनेमा थप चिनियाँ लगानी आउने बताएका छन्।

यो परियोजनाले काठमाडौं उपत्यकाको ट्राफिक जाम घटाउन र आवागमन सहज बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपाल–चीनबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका