काठमाडौँ: प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत ३ गते प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको नेपालमा यौन व्यवसायको खुलेआम अनुमति दिने धारणा नेपाली कांग्रेसभित्र अहिले पनि विवादको विषय बनेको छ।
घिमिरेले प्रतिनिधिसभाको विशेष समयमा भनेका थिए, “मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भनेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ। यसले मुलुकमा पर्यटकको संख्या बढाउँछ।” उनले थपे, “धार्मिक पर्यटकहरूले कम खर्च गर्छन् भने साहसिक पर्यटकहरू थोरै मात्र हुन्छन्। संसारमा सबैभन्दा धेरै पर्यटक मनोरञ्जन क्षेत्रको लागि आउने गर्दछन्। त्यसलाई आकर्षित गर्न सकियो भने मुलुकको आर्थिक विकास सम्भव छ।”
घिमिरेका यी अभिव्यक्तिहरूले प्रतिनिधिसभा, राष्ट्रियसभा र कांग्रेसभित्र चर्को आलोचना निम्त्याए। चैत ५ गते कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा घिमिरेको बयानमाथि बहस भयो। सभापति शेरबहादुर देउवा, महामन्त्रीगण गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरूले घिमिरेको अभिव्यक्तिको कडा विरोध जनाए।
तर, उपसभापति पूर्णबहादुर खड्का र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी मात्र घिमिरेको पक्षमा उभिएका थिए। पार्टीका महिला सांसदहरू ईश्वरी न्यौपाने, सीता गुरुङ, अम्बिका बस्नेत, सरिता प्रसाईं लगायतले भने घिमिरेको अभिव्यक्तिले पार्टीको छवि बिगारेको र बैठकमा कडा प्रतिक्रिया दिएका थिए। चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा अन्य पार्टीका महिला सांसदहरूले घिमिरेको विरुद्ध बेल घेर्ने तयारी गरेपछि उपसभापति खड्काले घिमिरेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका थिए।
सभापति देउवाले घिमिरेलाई प्रमुख सचेतक नियुक्त गर्दा सोचेका थिए कि यस्ता विवाद उत्पन्न नहोला, तर घटनाले पार्टीलाई लफडामा पार्दा उपसभापति खड्काले घिमिरेलाई आफ्नो धारणा फिर्ता लिन निर्देशन दिनु परेको हो। त्यसपछि घिमिरेले चैत ६ गते प्रतिनिधिसभा बैठकको प्रारम्भमा बोल्दै आफ्नो यौन व्यवसायको धारणा व्यक्तिगत रहेको स्पष्ट गर्दै सार्वजनिक माफी मागेका थिए।


