Friday, July 31, 2026
Homeसामाचार‘घटनालाई धार्मिक दंगाको रूपमा नहेरौँ’ : इस्लामी संघ नेपालका मौलाना नरुल हुसेन

‘घटनालाई धार्मिक दंगाको रूपमा नहेरौँ’ : इस्लामी संघ नेपालका मौलाना नरुल हुसेन

काठमाडौं । इस्लामी संघ नेपालका अगुवा मौलाना नरुल हुसेन ले तराई–मधेसमा भएको पछिल्लो घटनालाई धार्मिक दंगाको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन्। उनले यो घटना हिन्दु–मुस्लिम समुदायबीचको द्वन्द्व नभई केही गलत तत्वहरूले परिस्थितिको दुरुपयोग गरेको दाबी गरेका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा हुसेनले आफू घटनास्थलसँग जोडिएको क्षेत्रमै जन्मे–हुर्केको उल्लेख गर्दै त्यहाँका विभिन्न समुदायबीच लामो समयदेखि आपसी सद्भाव कायम रहेको बताए।

उनले भने, “हामी जसरी मिलेर बस्दै आएका थियौँ, भोलि पनि त्यसरी नै बस्ने विश्वास छ। यस्तो अवस्था कसरी आयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।”

हुसेनका अनुसार प्रारम्भिक घटना सामान्य विवादबाट सुरु भएको थियो। बालबालिकाबीच भएको भनाभनलाई प्रहरीले साम्य पार्ने प्रयास गरेपछि परिस्थिति जटिल बनेको उनको भनाइ छ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपमा गोली चलेको विषयमा उनले निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। गोली कसरी र कहाँबाट लाग्यो भन्ने तथ्य अनुसन्धानबाट मात्रै स्पष्ट हुने उनको धारणा छ।

घटनालाई धार्मिक रंग दिन खोजिएको आरोप लगाउँदै उनले भने, “यो हिन्दु–मुस्लिमबीचको द्वन्द्व होइन। प्रहरी र अर्को समूहबीच भएको घटनालाई बाहिरबाट धार्मिक दंगाका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ।”

हुसेनले समाजमा विभाजन सिर्जना गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै धर्मले शान्ति, मानवता, राष्ट्रप्रेम र सहअस्तित्वको शिक्षा दिने उल्लेख गरे। उनले सबै धर्मका धर्मगुरुहरूलाई समाजमा पुगेर युवापुस्तालाई शान्ति, सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिन आग्रह गरे।

उनले अभिभावकहरूलाई पनि बालबालिकामा मानवता, देशप्रेम र सामाजिक जिम्मेवारीबारे शिक्षा दिन समय दिनुपर्नेमा जोड दिए। साथै, राजनीतिक दलहरूलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरे।

हुसेनले घटनाको पूर्वसूचना र तयारीमा राज्य संयन्त्रबाट कमजोरी भएको हुन सक्ने टिप्पणी गर्दै सुरक्षा निकायले बल प्रयोगको सन्तुलन तथा घटनापछिको कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए। दण्डहीनताको अन्त्य नभएसम्म यस्ता घटना दोहोरिन सक्ने उनको भनाइ छ।

उनले अपराधीलाई धर्म वा समुदायका आधारमा नभई कानुनअनुसार अपराधीका रूपमा कारबाही गर्नुपर्नेमा जोड दिए।

मुस्लिम समुदायलाई लक्षित गरी फैलाइने अफवाहप्रति पनि उनले आपत्ति जनाउँदै रोहिंग्या शरणार्थीको व्यवस्थापन राज्यको जिम्मेवारी भएको बताए। कुनै व्यक्तिलाई नेपालमा बस्न दिने वा नदिने निर्णय सरकारको अधिकारक्षेत्रभित्र पर्ने भन्दै त्यसमा मुस्लिम समुदायलाई दोष दिन नहुने उनको भनाइ थियो।

अन्त्यमा उनले सबै नेपालीलाई धर्म वा समुदायका आधारमा विभाजित नगर्न, नेपालीलाई नेपालीकै रूपमा सम्मान गर्न तथा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न अपिल गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका