Saturday, August 1, 2026
Homeसामाचारगोलबजार गोलीकाण्ड : गणेश यादवको शव हेलिकप्टरमार्फत घर ल्याइयो, आजै अन्त्येष्टि गरिने

गोलबजार गोलीकाण्ड : गणेश यादवको शव हेलिकप्टरमार्फत घर ल्याइयो, आजै अन्त्येष्टि गरिने

काठमाडौं। सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ।

गणेशको शव सिरहाको औरही गाउँपालिका–२, तुलसियाहीस्थित निवासमा पुर्‍याइएपछि परिवार, आफन्त तथा स्थानीयवासी भावुक बनेका थिए।

परिवारका अनुसार हिन्दू परम्पराअनुसार आवश्यक धार्मिक विधि पूरा गरी शनिबार नै गणेशको अन्त्येष्टि गरिनेछ। अन्तिम संस्कार गागन खोलाको किनारमा गर्ने तयारी गरिएको छ।

गणेशको बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनाव समाधानका लागि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ स्वयं मृतकको घर पुगेर परिवारसँग छलफल गरेका थिए। त्यसपछि सरकार र मृतकका परिवारबीच ८ बुँदे सहमति भएको हो।

सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तै, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने र बुबाआमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति पनि भएको छ।

सहमतिमा गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।

गोलबजार गोलीकाण्डपछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न पक्षबाट आवाज उठिरहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका