वीरगन्ज । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका संवेदनशील सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गोप्य रूपमा छड्के अनुगमन गरेका छन्। चितवनमा सम्पन्न रास्वपाको राष्ट्रिय महाधिवेशनपछि शनिबार बिहान वीरगन्ज पुगेका उनले सामान्य पोसाकमा सीमा नाकाहरूको स्थलगत निरीक्षण गरेका हुन्।
मास्क, टोपी र साधारण पहिरनमा पुगेका गृहमन्त्री गुरुङले जानकी टोला, मटिअर्वा, अलौँलगायत प्रमुख नाकाहरूको अवलोकन गरेका थिए। उनको भ्रमणबारे जिल्लाका सुरक्षा अधिकारी, प्रशासनिक निकाय तथा मन्त्रालयको औपचारिक संयन्त्रसमेत अनभिज्ञ रहेको बताइएको छ।
खुला सीमाका कारण लामो समयदेखि तस्करी, राजस्व चुहावट र सुरक्षा चुनौती झेलिरहेका क्षेत्रहरूको निरीक्षणका क्रममा मन्त्री गुरुङले स्थानीय बासिन्दा र ज्येष्ठ नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। आफू गृहमन्त्री भएको परिचय नदिई सर्वसाधारणकै रूपमा कुराकानी गरेका कारण स्थानीयले सीमा क्षेत्रमा देखिएका समस्या र सुरक्षासम्बन्धी गुनासाहरू खुलेर राखेका थिए।
शनिबारको उक्त अनुगमनसँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुरक्षा वृत्तमा चर्चा सुरु भएको छ। भिडियोमा स्थानीयवासीले सीमा सुरक्षाको जिम्मेवारी सम्हालेका केही सशस्त्र प्रहरी अधिकारीहरूको मिलेमतोमा तस्करी भइरहेको गम्भीर आरोप लगाएका छन्। यद्यपि उक्त संवाद कुन नाकामा भएको हो भन्ने स्पष्ट खुलाइएको छैन।
गृहमन्त्री गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएका छन्। औपचारिक अनुगमनबाट वास्तविक अवस्था थाहा पाउन कठिन हुने भएकाले उनले स्वयं भुइँतहमा पुगेर वस्तुस्थिति बुझ्ने प्रयास गरेको स्रोतहरूको भनाइ छ।
चितवनको माडी हुँदै ठोरी नाका भएर पर्सा प्रवेश गरेका गृहमन्त्रीले बारा र पर्साका विभिन्न सीमा क्षेत्रको अवस्था बुझिसकेपछि शनिबार नै काठमाडौं फर्किएका छन्।
यस घटनापछि गृह मन्त्रालयले सीमा क्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही अधिकारीहरूको कार्यसम्पादनबारे आन्तरिक समीक्षा थालेको तथा आवश्यक परे जिम्मेवारी हेरफेर र निगरानी प्रणाली थप कडा बनाउने तयारी गरेको स्रोतले जनाएको छ।


