Saturday, May 9, 2026
Homeराजनीतिगगन थापालाई अमरेश सिंहको खुला पत्र: ‘भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गर्नुस्’

गगन थापालाई अमरेश सिंहको खुला पत्र: ‘भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गर्नुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत गगन थापालाई खुला पत्र लेख्दै सिंहले सर्लाहीमा आएर चुनाव लडेकोमा धन्यवाद दिएका छन्। तर उनले थापा भ्रष्ट व्यक्तिहरूद्वारा “आयातित उम्मेदवार” बनेको आरोप समेत लगाएका छन्।

सिंहले आफूविरुद्ध व्यक्तिगत र पारिवारिक जीवनमाथि टिप्पणी गर्न पनि ती व्यक्तिहरूलाई प्रयोग गरिएको दाबी गरेका छन्।

पत्रमा उनले लेखेका छन्, “सबैभन्दा पहिले तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईं सर्लाहीमा आएर चुनाव लड्नुभयो। तपाईं आफैँ आएको भए चुनाव अझ रोचक हुने थियो। तर तपाईं भ्रष्टहरूद्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र होइन, ती भ्रष्टहरूलाई नै मविरुद्ध मेरो निजी र पारिवारिक जीवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो। खैर, त्यसले केही फरक परेन। राजनीति भनेको सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्छ भन्ने मेरो विश्वास छ।”

सिंहले अब चुनावका तिता अनुभवलाई छोडेर देश निर्माणतर्फ अगाडि बढ्नुपर्ने पनि बताएका छन्। उनले भ्रष्टाचारविरुद्ध कदम चाल्न रास्वपालाई जनताले जनमत दिएको दाबी गरेका छन्।

साथै उनले थापालाई पनि भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न आग्रह गरेका छन्। कांग्रेसलाई परिवर्तन गर्ने प्रयास गरिरहेका थापा स्वयं परिवर्तन हुन नसकेको आरोप समेत सिंहले लगाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका