Wednesday, April 22, 2026
Homeराजनीतिकोसीमा कांग्रेसको चुनाव समीक्षा: गगन थापा आज विराटनगर जाँदै

कोसीमा कांग्रेसको चुनाव समीक्षा: गगन थापा आज विराटनगर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन्।

निर्धारित कार्यतालिका अनुसार उनी बिहान ९ः५० बजे प्रस्थान गर्नेछन्। बिहान १०ः३० बजेदेखि कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले जानकारी दिइन्।

प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला तथा क्षेत्रीय सभापतिहरू र अघिल्लो निर्वाचनका उम्मेदवारहरूको सहभागिता रहनेछ।

कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा यस्ता समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको पार्टीले कोसी प्रदेशमा पनि संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।

कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे सुझाव संकलन गर्ने लक्ष्य राखिएको छ। साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी तथा कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ।

कोसी प्रदेशमा नेतृत्व व्यवस्थापन र संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले बताइन्। कांग्रेसले यस्ता समीक्षा कार्यक्रमलाई संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका