काठमाडौं । देशका विभिन्न भागमा मनसुनी तथा स्थानीय वायुको प्रभाव कायम रहँदा आज (सोमबार) पनि पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने केही तराई जिल्लामा तातो लहरको जोखिम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली तथा लुम्बिनी र कर्णाली प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी रहने सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।


