काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। तराई क्षेत्रमा भने आंशिकदेखि मुख्यतया मौसम सफा रहेको छ। बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
यसैगरी, कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


