बेलबारी (मोरङ) — कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि मनाइरहेको ‘पर्यटन वर्ष २०८२’ कार्यक्रमले आधा समय पूरा गरिसकेको छ। भारत र तेस्रो मुलुकका गरी १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षको पहिलो छ महिनामा प्रदेशभर पर्यटक आगमन र उत्साहजनक सहभागिता देखिएको छ।
भारतको बिहारका कमलेश शर्मा परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन्। इलामको कन्याममा भेटिएका शर्माले भने, “पहिले साथीहरूसँग आएको थिएँ, तर यो पहिलोपटक परिवारसँग आएको हुँ। यसपटक यात्रा सजिलो र रमाइलो अनुभव भयो।” उनका अनुसार सस्तो दरमा स्तरीय होटल सुविधा पाइएको छ, जसले भारतका नागरिकलाई नेपाल भ्रमणमा आकर्षित गरिरहेको छ।
सुरुआती तीन महिना (वैशाख, जेठ र असार) पर्यटन वर्षका कार्यक्रम उत्साहका साथ सञ्चालन भए पनि पछिल्ला महिनामा प्रचार–प्रसार केही सुस्त देखिएको छ।
कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ भन्छन्, “सरकारसँगै निजी क्षेत्र पनि पर्यटन वर्ष सफल बनाउन जुटिरहेको छ। धार्मिक, प्राकृतिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य र खेलकुद पर्यटन सबै क्षेत्रमा पर्यटक आकर्षण बढ्दैछ।”
कोरोना महामारीपछि सुस्तिएको पर्यटन क्षेत्रलाई पुनः सक्रिय बनाउन पर्यटन वर्षको घोषणा गरिएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की का अनुसार, “ऊर्जा, जलविद्युत्, पर्यटन र जडीबुटी प्रदेशको आर्थिक रूपान्तरणका प्रमुख आधार हुन्।”
हाल प्रदेशभर पर्यटकस्तरका करिब ५०० होटल सञ्चालनमा छन्, जसमा डेढ सय वानस्टारदेखि फाइभस्टार स्तरका होटल पनि समावेश छन्। यी होटलहरूमा दैनिक तीन हजारभन्दा बढी पर्यटक बस्न सक्ने क्षमता रहेको सहसंयोजक श्रेष्ठले जानकारी दिए।
तर, पछिल्ला महिनामा पूर्वी पहाडी जिल्लामा आएको बाढी–पहिरोले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेको उनले बताए। उनले छठ पर्वपछि पर्यटन वर्षको दोस्रो चरणमा प्रचार–प्रसार तीव्र बनाउने योजना रहेको उल्लेख गरे।
कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक दृष्टिले अत्यन्त रमणीय मानिन्छ। यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) देखि नेपालकै होचो भूभाग कचनकवल (७० मिटर) सम्मको विविधता पाइन्छ। इलामको श्रीअन्तुडाँडा मा सूर्योदय अवलोकनका लागि दैनिक हजारौं आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन्।
त्यस्तै कोशीटप्पु आरक्ष, वेतना सिमसार, धनकुटाको भेडेटार, इलामको चियाबारी, भोजपुरको ट्याम्केमयुङडाँडा र पाँचथरको साधुटार जस्ता गन्तव्यले पर्यटकलाई लोभ्याइरहेका छन्।
प्रदेश सरकारले १३ पर्यावरणीय गन्तव्य र १० ट्रेकिङ ट्रेल सूचीबद्ध गरेको छ। सरकारी तथ्याङ्कअनुसार, सगरमाथा अवलोकनका लागि हरेक वर्ष ४३ प्रतिशत विदेशी र ५७ प्रतिशत आन्तरिक पर्यटक यस प्रदेशमा आउने गर्छन्।
धनकुटाको छिन्ताङ, ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी र सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका मुख्य केन्द्र हुन्।
त्यस्तै सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयु हिमशृङ्खलाले साहसी पर्यटकलाई आकर्षित गर्छन्।
फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल र सभापोखरी ट्रेक वातावरणीय पर्यटनका दृष्टिले विशेष महत्व राख्छन्।
छ महिनामा सकारात्मक नतिजा देखिएपछि कोशी प्रदेश सरकारले बाँकी अवधिमा प्रचार, पूर्वाधार र सेवामा सुधारमार्फत पर्यटन वर्ष २०८२ लाई अझ प्रभावकारी बनाउने तयारी थालेको छ।


