Sunday, June 28, 2026
Homeसामाचारकोरला सडक सहज बन्दै जाँदा पोखरा–जोमसोम हवाई उडान दुईतिहाइले घट्यो

कोरला सडक सहज बन्दै जाँदा पोखरा–जोमसोम हवाई उडान दुईतिहाइले घट्यो

मुस्ताङ: राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज र सुलभ बन्दै जाँदा पोखरा–जोमसोम हवाई उडानको संख्या झण्डै दुईतिहाइले घटेको छ। एक समय दैनिक १८ वटा उडान हुने जोमसोम विमानस्थलमा अहिले ५–६ वटामात्रै उडान भइरहेका छन्।

पर्यटकीय याममा चहलपहल हुने जोमसोम विमानस्थलमा अहिले यात्रुको चाप घटेको देखिन्छ। हिमाली जिल्ला मुस्ताङमा बिहानको समयमा मात्रै टुइनटर जस्ता साना जहाजले उडान भरिरहेका छन्। तर अहिले बिहान विमानस्थल पुग्दा सीमित यात्रुबाहेक अन्य कोही देखिँदैनन्।

सडक विस्तारले हवाई यातायात घटायो
पोखरा–जोमसोम मार्गमा पहिले दैनिक ३०० भन्दा बढी पर्यटक हवाईमार्गबाट आउने गर्दथे। तर अहिले उक्त संख्याको आधा पनि पुगेको छैन। मुख्य कारण हो—बेनीदेखि मुक्तिनाथसम्मको कच्ची सडकको अधिकांश भाग कालोपत्रे भइसकेको र सडकमार्गको सुविधा बढ्नु।

जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख केशव लम्सालका अनुसार, “कोरला सडक स्तरोन्नति हुनु अघि यहाँ दैनिक १८ वटासम्म उडान हुन्थ्यो। अहिले सडकमार्ग सहज भएपछि पर्यटकले सोही माध्यम रोज्न थालेका छन्।”

सस्तो र सहज सडकमार्ग रोज्दै पर्यटक
ट्राभल एजेन्सी तथा एअरलाइन सञ्चालकका अनुसार, धेरै पर्यटकले अब एकतर्फी हवाई टिकट लिएर फर्कने बेला सडकमार्ग प्रयोग गरिरहेका छन्। तारा एअरका जोमसोम व्यवस्थापक सुजन लालचनले भने, “पहिले टिकट माग धान्न हम्मेहम्मे पर्थ्यो, अहिले यात्रु नआएर जहाज खाली फर्काउनु पर्ने अवस्था आएको छ।”

समिट एअरका जोमसोम व्यवस्थापक सुमन थकालीले भने, “अहिले अधिकांश नेपाली पर्यटक र स्थानीयवासी पोखरा फर्किँदा सडकमार्ग रोज्ने गर्छन्। ट्राभल एजेन्सीले पनि टिकट बुकिङ गरेपछि यात्रुलाई गाडीमा पठाउँछन्, जसले गर्दा उनीहरूले आधा भाडा बचत गर्छन्।”

हवाई सुरक्षाको चुनौती र टिकट मूल्यको असमानता पनि कारण
पोखरा–जोमसोम हवाई मार्गमा आधा दर्जनभन्दा बढी दुर्घटना भइसकेकाले नागरिक उड्यन प्राधिकरणले थप निगरानी र कडा नियम लागू गरेपछि उडान संख्या घटेको बताइएको छ।

त्यस्तै, हवाई टिकट मूल्यमा असमानता रहेको गुनासो पनि रहँदै आएको छ। विदेशी पर्यटकले नेपालीको तुलनामा दोब्बर/तेब्बर भाडा तिर्ने अवस्था हुँदा एयरलाइन्स कम्पनीहरूले स्वदेशी यात्रु उपेक्षा गर्ने गरेको गुनासो छ। अत्यावश्यक अवस्था—जस्तै दुर्घटना वा बिरामी परेको खण्डमा मात्र नेपाली यात्रुलाई अस्पतालको सिफारिसमा टिकट दिइन्थ्यो।

यात्रुको अनुभव परिवर्तन
पहिले पोखरा–जोमसोम हवाई यात्राका लागि नेपाली यात्रुलाई धेरै संघर्ष गर्नुपर्थ्यो। अहिले भने सडकको विकल्प खुलेपछि यात्रा सजिलो र सुलभ भएको छ। पोखराबाट गाडी सजिलै पाइने, भाडा सस्तो हुने र समयमै गन्तव्यमा पुग्न सकिने भएकाले पर्यटक, कर्मचारी, सुरक्षाकर्मी र मजदुर समेत सडकमार्ग रोज्न थालेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका