धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएकाले दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने तथा मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्।
ट्राफिक प्रमुख पाण्डेले सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्ने जानकारी दिए।
यस्तै, आइतबार बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गमा यात्रा थप जोखिमपूर्ण बनेको छ।
प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


