काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक प्रविधि, दक्षता, अध्ययन-अनुसन्धानमा पारङ्गतता, र कूटनीतिक कौशलले सुसज्जित सेना आजको आवश्यकता भएको बताएका छन्।
सेना दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि स्वदेशमा उत्पादन नहुने तथा आर्थिक तथा प्राविधिक क्षमताका कारण आत्मनिर्भरता अभाव हुनु राष्ट्रिय हितका लागि संवेदनशील विषय भएको बताए। उनले सेनाको दक्षता, सशक्तीकरण, र आधुनिकीकरणमा परनिर्भरता कम गर्न सबै सरोकारवालाको ध्यान जान आवश्यक रहेको उल्लेख गरे।
महाशिवरात्रि सेना दिवसका अवसरमा उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि, र उत्तम स्वास्थ्यका लागि शुभकामना व्यक्त गरे।
उपराष्ट्रपति यादवले सेना दिवसले सेनाको साहस, वीरता, समर्पण, र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने बताए। उनले नेपाली सेनाले राष्ट्रको सुरक्षा र सम्मानको रक्षा गर्दै आइरहेको उल्लेख गर्दै नेपाली सेना साहस र समर्पणका साथ जिम्मेवारी निर्वाह गरिरहेको धारणा व्यक्त गरे।
“सेना दिवसका अवसरमा हामी सबैले राष्ट्रको सुरक्षा र विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,” उनले भने। साथै, नेपाली सेनाले बाह्य सुरक्षा मात्र नभई प्राकृतिक प्रकोप तथा विपद्को समयमा समेत देश र समाजको सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।


