Monday, July 27, 2026
Homeसामाचारकाम अलपत्र पारेपछि शिवशक्ति इन्फ्रा डेभलपर्सको ठेक्का तोडियो

काम अलपत्र पारेपछि शिवशक्ति इन्फ्रा डेभलपर्सको ठेक्का तोडियो

चितवन । सडक डिभिजन कार्यालय भरतपुरले निर्माण कार्य समयमै सम्पन्न नगरी लामो समयदेखि अलपत्र पारेको भन्दै शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालि, मकवानपुरसँग भएको ठेक्का सम्झौता रद्द गरेको छ।

कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सम्पन्न नगरेको तथा पटक–पटक लिखित र मौखिक आग्रह गर्दा पनि दायित्व पूरा नगरेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ।

उक्त कम्पनीले चितवनको पूर्व–पश्चिम राजमार्गअन्तर्गत लोथरदेखि टिकौलीसम्मको सडक मर्मत तथा ओभरले गर्ने जिम्मा लिएको थियो। तर निर्माण कार्य लामो समयदेखि रोकिएपछि सडक डिभिजनले कानुनी प्रक्रिया अघि बढाएको हो।

यसअघि २०७९ पुस २० गते कार्यालयले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको थियो। तर निर्माण व्यवसायीबाट चित्तबुझ्दो जवाफ प्राप्त नभएको र ठेक्का सम्पन्न हुने अवस्था नरहेको निष्कर्षपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (२) र (७) बमोजिम साउन ८ गतेको निर्णयअनुसार ठेक्का तोडिएको कार्यालयले जनाएको छ।

ठेक्का रद्द भएसँगै कम्पनीविरुद्ध प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने सडक डिभिजनले जनाएको छ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्पन्न भएका कार्यको वित्तीय फरफारकका लागि उपस्थित हुन निर्माण कम्पनीलाई निर्देशन दिएको छ। तोकिएको अवधिभित्र कम्पनी वा उसका प्रतिनिधि उपस्थित नभए कार्यालयले कानुनबमोजिम एकतर्फी रूपमा वित्तीय फरफारक प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका