काठमाडौं। बूढानीलकण्ठ नगरपालिका-१०, भंगालमा बिहीबार बिहान फेला परेको चितुवाको सफल उद्धार गरिएको छ।
करिब साढे ७ बजेतिर स्थानीयले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको जानकारीपछि डिभिजन वन कार्यालय, काठमाडौंले उद्धार टोली खटाएको थियो। कार्यालय प्रमुख पुष्पराज बर्तौलाका अनुसार टोलीले चितुवालाई ‘डार्ट’ गरी बेहोस बनाएर नियन्त्रणमा लिएको हो।
‘हाम्रो टोलीले सुरक्षित रूपमा डार्ट गरेर चितुवालाई नियन्त्रणमा लियो। उद्धारपछि हामीले चिडियाखाना पठाएका छौं,’ प्रमुख बर्तौलाले जानकारी दिए।
चितुवा उद्धारका क्रममा कुनै अप्रिय घटना नभएको र चिडियाखानामा सुरक्षित रूपमा स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ।


