काठमाडौं । काठमाडौं महानगरपालिकाले विभागीय तथा महाशाखा प्रमुखहरूका लागि बजेट चक्र र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा प्रस्तुतीकरण दिएका थिए भने युवा, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जनकराज शर्माले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीबारे जानकारी गराएका थिए।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा एलजीपास समन्वय समितिका संयोजक सरोज गुरागाईंले महानगरपालिकाले अधिकांश सूचकमा शतप्रतिशत काम गरे पनि अभिलेखीकरण र अद्यावधिकमा केही कमजोरी रहेको बताए। उनले सम्पन्न कामलाई व्यवस्थित रूपमा सूचक र तथ्यांकमा प्रस्तुत गर्न विभागीय निगरानी बढाउन निर्देशन दिए।
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि २०८२ अनुसार प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्वमूल्याङ्कन समन्वय समिति गठन हुने व्यवस्था छ। समितिमा सामाजिक, आर्थिक, पूर्वाधार, वन तथा वातावरण विभागका प्रमुख सदस्य रहने तथा योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
कार्यक्रममा भवन व्यवस्था समितिका संयोजक तथा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले संघीय राजधानी काठमाडौं महानगरपालिका र भौगोलिक विकटताका कारण आधारभूत पूर्वाधारसमेत विकास गर्न नसकेका स्थानीय तहलाई एउटै सूचकबाट मूल्याङ्कन गर्नु अव्यवहारिक हुने धारणा राखे।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले विभागहरूबाट दैनिक रूपमा उत्पादन हुने कागजात तथा विवरणलाई व्यवस्थित गर्न सके उत्कृष्ट नतिजा प्राप्त हुने बताइन्। उनले आन्तरिक संवाद, सञ्चार र समन्वयलाई प्रभावकारी बनाउन अभिमुखीकरण आयोजना गरिएको जानकारी दिइन्।
कार्यक्रममा पूर्व मुख्य सचिव डा. सुवेदीले स्थानीय सरकारलाई स्रोतमा अत्यधिक निर्भर हुने अवस्थाबाट मुक्त गराउने गरी बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिए। यस्तै उपसचिव शर्माले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड तयार गर्नुपर्नेमा जोड दिए।


