काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४०६ जना सवारी चालकलाई कारबाही गरेको छ।
शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८५ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीमार्फत ७५ जना र रातोबत्ती उल्लंघन गर्ने ६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी, तीव्र गतिमा सवारी चलाउने १८० जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४२ जना, लेन क्रस गर्ने ८० जना, सवारीको अवस्था ठीक नभएका ५९ जना तथा एकतर्फी सडकमा नियम उल्लंघन गर्ने २४ जना चालक कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ८०० जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कारबाहीमा तीव्र गति, मापसे, लेन अनुशासन र अन्य ट्राफिक नियम उल्लंघन प्रमुख कारण रहेका छन्।


