Thursday, June 25, 2026
Homeमुख्य समाचारकाठमाडौं उपत्यकामा केन्द्रित बर्ड फ्लु संक्रमण: ११ जिल्लामा पुष्टि, ६ लाखभन्दा बढी...

काठमाडौं उपत्यकामा केन्द्रित बर्ड फ्लु संक्रमण: ११ जिल्लामा पुष्टि, ६ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले मुख्यतः काठमाडौं उपत्यकामा केन्द्रित भएको छ। पशुसेवा विभागका अनुसार हालसम्म देशका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ भने काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे उच्च जोखिममा रहेका छन्।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार देशभर नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि हाल नयाँ संक्रमण मुख्य रूपमा काठमाडौं उपत्यकाभित्रै सीमित देखिएको छ। त्यसैले संक्रमण नियन्त्रणका प्रयासहरू उपत्यकाकै क्षेत्रमा केन्द्रित गरिएको छ।

हालसम्म देशभरका ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भइसकेको छ। पछिल्लो पटक थप पाँच स्थानका नमुनामा संक्रमण भेटिएपछि प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम तीव्र पारिएको विभागले जनाएको छ।

गत चैत अन्त्यतिर कागमा पहिलो पटक संक्रमण देखिएको थियो। त्यसपछि जेठको दोस्रो सातादेखि काठमाडौंका चन्द्रागिरि, कीर्तिपुर, टोखा र तारकेश्वर क्षेत्रमा संक्रमण फैलिएको हो। संक्रमित कागमार्फत अन्य पन्छीमा रोग सरेको निष्कर्ष विभागको छ।

ललितपुरको गोदावरी, भक्तपुरको चाँगुनारायण र सूर्यविनायक तथा सदर चिडियाखानामा समेत संक्रमित काग भेटिएपछि वन्यजन्तु तथा जंगली चरामा पनि संक्रमण फैलिएको संकेत देखिएको छ। चिडियाखानामा ‘एच–नाइन’ प्रकारको एभियन इन्फ्लुएन्जा देखिएपछि भाइरसमा परिवर्तन (म्युटेसन) भएको हो कि भन्ने विषयमा जीनोमिक सिक्वेन्सिङको तयारी भइरहेको छ।

बर्ड फ्लु अत्यन्त संक्रामक रोग भएकाले संक्रमण नियन्त्रणका लागि ‘स्टाम्पिङ आउट’ विधिअन्तर्गत संक्रमित पन्छी तथा संक्रमणका स्रोतहरू नष्ट गरिँदै आएको छ। हालसम्म करिब ६ लाखभन्दा बढी कुखुरा, ५५ लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलो दाना नष्ट गरिएको छ। यसबाट किसानहरूलाई ६० करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति पुगेको विभागको अनुमान छ।

संक्रमित फार्ममा कम्तीमा ४२ दिनसम्म नयाँ चल्ला राख्न नपाइने भएकाले उत्पादन बन्द हुँदा थप अप्रत्यक्ष आर्थिक क्षति पनि भइरहेको छ।

सरकारले ‘बर्ड फ्लु रोग नियन्त्रण नियमावली–२०७८’ अनुसार प्रभावित किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। जिल्लास्तरीय दररेट निर्धारण समितिले तय गरेको मूल्यका आधारमा किसानको बैंक खातामा सिधै रकम उपलब्ध गराइनेछ।

विभागले किसानहरूलाई संक्रमणको शंका लागे तुरुन्त सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरेको छ। साथै फार्ममा जैविक सुरक्षा (बायो–सेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, आवश्यक खोप तथा उपचारको व्यवस्था गर्न र पशुपन्छी बीमा गर्न सुझाव दिएको छ। पशुपन्छी बीमामा सरकारले ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउँदै आएको छ।

विभागका अनुसार हाल बजारमा उपलब्ध मासु तथा अण्डा सुरक्षित छन्। बर्ड फ्लुका भाइरस उच्च तापक्रममा नष्ट हुने भएकाले मासु र अण्डा राम्ररी पकाएर सेवन गर्दा संक्रमणको जोखिम नहुने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका