काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनअघि कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले सबै क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको र चुनावपूर्व गठबन्धनको सम्भावना नरहेको बताए।
प्रवक्ता चालिसेले गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति बढाएको दाबी गर्दै कांग्रेसले कुनै पनि दलसँग चुनाव लक्षित भेटघाट नगरेको उल्लेख गरे। उनले पार्टी दृढतापूर्वक चुनावी प्रचारमा लागिरहेको र सभापतिले समेत सार्वजनिक रूपमा यही धारणा राखिसकेको बताए। उनले यस विषयमा भ्रममा नपर्न आग्रह गरे।
उनले अधिनायकवादी प्रवृत्ति भएका शक्तिहरू मीठा र आकर्षक कुरा गर्दै आउने भन्दै नयाँ शक्तिको भ्रममा नपर्न नागरिकलाई आग्रह गरे। साथै, अन्य दलहरूले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै त्यसतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जानकारी दिए।
चालिसेले विपक्षी दल र नेताविरुद्ध सामाजिक सञ्जाल तथा अन्य माध्यममा घृणास्पद र अमर्यादित अभिव्यक्ति बढ्दै गएको उल्लेख गर्दै यसले स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई असर पुर्याएको बताए। उनले कांग्रेस यस्तो गतिविधिप्रति सचेत रहेको बताए।


