काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरू बस्ने भएका छन्। दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले तीन वटा छुट्टाछुट्टै बैठक बोलाएको हो।
संसदीय दलको नेता चयनको विषय पेचिलो बन्दै जाँदा बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ।
लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक तथा प्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ।
त्यसैगरी, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ।


