Saturday, August 1, 2026
Homeराजनीतिकांग्रेसभित्र विवाद चर्कियो : देउवा समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने,...

कांग्रेसभित्र विवाद चर्कियो : देउवा समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने, नयाँ राजनीतिक विकल्पबारे पनि चर्चा

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाको नेतृत्वले एकताको पहल नगरेको आरोप लगाउँदै शेरबहादुर देउवा निकट समूहले आफ्नो राजनीतिक गतिविधिलाई तीव्र बनाएको छ।

यसैक्रममा देउवा समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलाको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थापन इतर पक्षका अधिकांश शीर्ष नेताहरू सहभागी भएका थिए।

भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। साथै राजनीतिक, समसामयिक राजनीतिक, संगठन, विधान मस्यौदा, व्यवस्थापनलगायत विभिन्न जिम्मेवारी समेट्ने १६ वटा तयारी समिति पनि गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर सबै समितिका संयोजक र सदस्यहरूको टुंगो लगाइनेछ।

आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न आफूहरूले लामो समयसम्म प्रयास गरे पनि नेतृत्व तहबाट सकारात्मक भूमिका नदेखिएकाले राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए।

उनले नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमा बढ्दो निराशालाई सम्बोधन गर्दै पार्टीको भावी दिशा तय गर्न भेला आयोजना गरिएको उल्लेख गरे।

कोइरालाका अनुसार भेलामा मुलुकको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक अवस्था, पार्टीको संगठनात्मक संरचना, वैचारिक दिशा र भावी रणनीतिबारे विस्तृत छलफल हुनेछ। भेलाबाट नीतिगत तथा संगठनात्मक निर्णयसमेत गरिने उनले बताए।

पार्टीभित्रको असन्तुष्टिका बीच देउवा समूहले राष्ट्रिय भेलापछि आवश्यक परे नयाँ राजनीतिक दल गठनको सम्भावनाबारे समेत आन्तरिक छलफल गरिरहेको चर्चा कांग्रेस वृत्तमा छ। स्रोतका अनुसार कोइराला परिवारको राजनीतिक विरासतलाई केन्द्रमा राख्दै सम्भावित नयाँ संरचनामा डा. शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

शशांक कोइरालाले डा. शेखर कोइरालाले पनि आफ्नो अभियानप्रति समर्थन जनाएको दाबी गरेका छन्। उनका अनुसार व्यस्तताका कारण पत्रकार सम्मेलनमा उपस्थित हुन नसके पनि शेखरले अभियानप्रति सहमति जनाएको जानकारी दिएका थिए।

यता संस्थापन पक्षले भने देउवा समूहले विशेष महाधिवेशनको प्रक्रिया अस्वीकार गर्दै विधानबाहिरका माग अघि सारेकाले सहमतिको सम्भावना कमजोर बनेको जनाएको छ। साथै गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले दिएको वैधानिक मान्यताविरुद्ध देउवा समूह पुनः अदालत पुगेपछि दुवै पक्षबीचको दूरी अझ बढेको संस्थापन पक्षको बुझाइ छ।

राष्ट्रिय भेलाको तयारीसँगै नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष थप निर्णायक चरणमा पुगेको विश्लेषण गरिएको छ। साउन २९ गते हुने भेला र त्यसपछिका निर्णयहरूले पार्टीको आगामी राजनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका