Thursday, May 21, 2026
Homeराजनीतिकांग्रेसद्वारा निर्वाचन ब्यूरोमा १७ सदस्य मनोनयन

कांग्रेसद्वारा निर्वाचन ब्यूरोमा १७ सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको निर्वाचन तयारीलाई व्यवस्थित र तथ्याङ्कमा आधारित बनाउन ‘निर्वाचन ब्यूरो’मा १७ सदस्य मनोनयन गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्यूरोमा सदस्यहरू मनोनयन गरेका हुन्।

ब्यूरोका सदस्यहरूमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बाँस्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही), हरि पोखरेल (झापा) र सुदर्शन आचार्य (सिन्धुपाल्चोक) रहेका छन्।

यस्तै रोहित पौडेल (काठमाडौँ), डा. भूमिराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेजविनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ) पनि सदस्यमा मनोनयन भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार ब्यूरोलाई देशव्यापी निर्वाचन ‘डाटाबेस’ निर्माण गर्ने तथा निर्वाचन तयारीलाई वैज्ञानिक र तथ्यमा आधारित बनाउने जिम्मेवारी दिइएको छ।

ब्यूरोले ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा तथा सातवटै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्नेछ। साथै मतदाताको मनोविज्ञान र स्थानीय वस्तुस्थितिको अध्ययन गरेर उम्मेदवार छनोट प्रक्रियालाई थप तथ्यपरक बनाइने जनाइएको छ।

निर्वाचन ब्यूरोअन्तर्गत सात सदस्यीय ‘प्राविधिक समिति’ पनि रहनेछ, जसमा डाटा विश्लेषक, अनुसन्धानकर्ता, राजनीतिक रणनीतिकार तथा डिजिटल विज्ञहरू सहभागी हुनेछन्।

त्यसैगरी प्रदेशस्तरमा सूचना सङ्कलनका लागि ‘अपरेसनल टिम’ र स्थानीय तहसम्म ‘सूचनादाता’ सञ्जाल परिचालन गरिने कांग्रेसले जनाएको छ। उक्त संयन्त्रले सामाजिक सञ्जालको प्रवृत्ति विश्लेषण, साप्ताहिक अद्यावधिक तथा मासिक विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने कार्यसमेत गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका