काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको निर्वाचन समितिको बैठकले पार्टी विधानको धारा ३५ (२) (च) बमोजिम वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका विभिन्न तह र निकायको निर्वाचन मिति तय गरेको हो।
संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन २०८३ भदौ २४ गते देशभरका ६ हजार ७४३ वटै वडामा हुनेछ। गाउँपालिका तथा नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज ३ गते हुने समितिले जनाएको छ।
त्यसैगरी जिल्ला अधिवेशन असोज ७ गते, प्रदेश अधिवेशन असोज १० गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।
निर्वाचन समितिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि पठाइनेछ। भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
यसैबीच, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने समितिले जनाएको छ। अमेरिका, फ्रान्स, नेदरल्याण्ड, जापान, दक्षिण कोरियालगायत १५ देशमा जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ।
वर्षातको मौसम तथा पार्टीभित्रको आन्तरिक छलफलका कारण केही समय थप गरेर संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।



