Monday, May 4, 2026
Homeराजनीतिकांग्रेसको निर्णय: समयमै महाधिवेशन नगर्ने भ्रातृ संगठनहरू विघटन

कांग्रेसको निर्णय: समयमै महाधिवेशन नगर्ने भ्रातृ संगठनहरू विघटन

काठमाडौँ । नेपाली कांग्रेसले निर्धारित समयभित्र महाधिवेशन गर्न नसकेका अधिकांश भ्रातृ संगठनहरू विघटन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समयसीमा नपुगेका तथा अधिवेशनको ठोस आधार प्रस्तुत गर्न नसकेका भ्रातृ संगठनका केन्द्रीय समितिहरू स्वतः विघटन भएको ठहर गरेको हो।

पार्टीले यसअघि तदर्थ समिति गठन गरिएका भ्रातृ संगठनहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न अल्टिमेटम दिएको थियो। पछि केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिका प्रस्तुत गरेका संगठनहरूलाई मात्र समय थप गरेको थियो। तर, निर्देशक समितिको सहजीकरणका बाबजुद पनि अधिकांश संगठनले कार्यतालिका पालना नगरेको कांग्रेसले जनाएको छ।

यसबीच नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिइसकेका छन्। सोही कारण म्याद सकिएका सबै भ्रातृ संगठनका केन्द्रीय समितिहरू स्वतः विघटन भएका हुन्।

प्रवक्ता देवराज चालिसेका अनुसार म्याद समाप्त भएपछि गरिएका सबै निर्णय र मनोनयनहरू पनि स्वतः अवैध ठहर गरिएका छन्।

अब महाधिवेशन हुन नसकेका संगठनहरूका लागि नयाँ व्यवस्था गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिइएको छ। विधानअनुसार महाधिवेशन सुनिश्चित गर्न तथा नयाँ तदर्थ समिति गठन गर्न सभापतिलाई अधिकार प्रदान गरिएको छ।

यद्यपि, नेपाल थारु संघले आगामी २०८३ जेठ १६ र १७ गते महाधिवेशन गर्ने मिति तय गरिसकेको हुनाले सो अवधिसम्मका लागि उक्त संगठनको कार्यसमितिको म्याद थप गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका